एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँ: मन्त्री पौडेल

काठमाडाैं | मंसिर ४, २०८१

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँ: मन्त्री पौडेल

पर्वत:     स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनुभएको छ । 

पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताउनुभयो । 


सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने उहाँको भनाइ छ । उहाँले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । 


मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उहाँको भनाइ छ । 
    
    
मन्त्री पौडेलले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभयो । 


उहाँले तत्कालीन अवस्थामा रु एक लाखको स्वास्थ्य बीमा रहेकामा अब यसलाई बढाएर रु पाँच लाख पु¥याउने योजना रहेको बताउनुभयो । 


उहाँले यसका लागि रोजगारीमा आबद्ध कर्मचारीबाट मासिक तलबको दुई प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो । यसबाट पैसा नभएकाको पनि उपचार गर्न सहज हुने उहाँको भनाइ छ । 

    
सरकारले उठाउने सबैखाले करमा पनि शून्य दशमलव पाँच प्रतिशत बीमा कोषमा जाने व्यवस्था गरिनुपर्ने भन्दै उहाँले अहिले उठ्ने स्वास्थ्य बीमा करलाई तेब्बर बनाउनुपर्ने बताउनुभयो । 

    
मन्त्री पौडेलले मुलुकभरीका १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाउँदै अहिले खोप भण्डारणको काम भइरहेको बताउनुभयो । त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार गरिने जस्ता कार्यक्रमले धेरै लाभान्वित भएको बताउनुभयो । 


अर्को प्रसङ्गमा मन्त्री पौडेलले स्रोतको अभावका कारण स्वास्थ्य क्षेत्रलाई चाहेअनुरुप विकास गर्न नसकिएको बताउनुभयो । उहाँले स्रोतको व्यवस्थापन गरेर स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लजाने योजना समेत सुनाउनुभयो । 


सो अवसरमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले अस्पतालको सुधारका लागि आवश्यक विभिन्न कुरा समेटिएको मागपत्र पेस गर्नुभएको छ । मन्त्री पौडेलले मागपत्र बुझ्दै पर्वत अस्पतालको विकास र गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन ।  यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...

थप पढ्नुहोस्

काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

थप पढ्नुहोस्

काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

थप पढ्नुहोस्